भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ


९ आश्विन २०८१, बुधबार ११:४८ मा प्रकाशित

बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।

पक्राउ पर्नेमा दुर्गा प्रसाईँले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल पीडीएफका नेता कार्यकर्ता रहेका छन् ।

प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियोे । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

यसैगरी हल्दीबारी गाउपालिका–९ का विवश लिम्बू , हल्दीबारी १ का वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बू, बुद्धशान्ति गाउपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।

उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारीसाधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुबै ट्रकका चालक घाइते भएका थिए । प्रसाईँलाई एकजना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here