मेचीनगर । सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थाले लगत्तै भारतीय माछाको आयातमा समेत कमि आएको छ ।
पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार ६ वर्षयता पूर्वीनाकाबाट हुने खाने माछाको आयात क्रमस ओरालो लाग्दैछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०/२०७१ देखि वितेको आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा खाने माछाको आयातमा उताव चढाब देखिन्छ । आर्थिक वर्ष २०७०/२०७१ मा पूर्वी नाका भएर २ हजार ७९ दशमलव ८४ मेट्रिक टन खाने माछा आयात भएको थियो । वितेको आर्थिक वर्ष २०७५/०७६ मा १३ दशमलव ८२ प्रतिशत मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयसँग छ ।

कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंका अनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा १२ प्रतिशतले घटेको हो । उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ५ सय ६० दशमलव ८ मेट्रिक टन खाने माछा आयात भएको थियो ।
आर्थिक वर्ष २०७१/०७२ मा यो नाका हुदैं २ हजार १ सय ८ दशमलव ६६ मेट्रिक टन खाने माछा आयात भएको थियो भने आर्थिक वर्ष २०७३/२०७४ मा १ हजार ६ सय ७४ दशमलव ९८८ मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा ३ दशमलव ५१ प्रतिशतले आयात घटेको सिहंले बताए ।उनका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ हजार ७ सय ३६ मेट्रिक टन खाने माछा आयात भएको थियो । नेपाल सरकारले व्यवसायिक रुपमा माछा पालनमा किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यवसायिक माछा पालनमा कृषकको आर्कषण बढेको उनको भनाई छ ।
यसैगरी, व्यवसायिकरुपमा नेपालमा माछा पाल्न थालेपछि भारतबाट हुने माछाको भुराको आयातमा भने बृद्धि भएपनि बितेको आर्थिक वर्ष २०७५/०७६ मा यसको आयात शुन्य छ । किसानले धमाधम पोखरी खनेर व्यवसायिक रुपमा माछा पालन गर्न थालेपछि भुराको आयातमा बृद्धि भएको थियो । तर, पछिल्लो समय भारतले जीएसटी अनिवार्य गरे सँगै अहिले भारतबाट माछाका भुरा आउने क्रम रोकिएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा पूर्वी नाका भएर २५ लाख ६३ हजार वटा माछाका भुरा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा त्यो संख्या बढेर ३२ लाख ८८ हजार ४ सय वटा पुग्यो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिकवर्ष २०७२/०७३ मा २० लाख २ हजार वटा माछाका भुरा आयात भएको थियो । आर्थिक वर्ष २०७३/२०७४ मा त्यो संख्या ६ दशमलव ५५ प्रतिशतले बढेर २१ लाख ३१ हजार ४ सय वटा पुगेको छ । आर्थिक वर्ष २०७४/२०७५ मा आइपुग्दा १ लाख ८३ हजार १ सय वटामा झरेको पशु चिकित्सक सिहंले बताए ।
बितेको आर्थिक वर्ष २०७५/०७६ मा त यसको आयात शुन्य छ । देशका विभिन्न भागमा व्यवसायिक रुपमा माछा पालन शुरु भएर आफ्नै देशमा माछा उत्पादन हुन थालेपछि माछाका भुराको आयातमा बृद्धि हुने गरेको थियो तर, जीएसटी कारण पछिल्लो वर्ष आयात ठप्प छ । माछाको भुराको आयातमा कमी आउनु भारतले लगाएको जीएसटी नै भएको सरकारी अधिकारीको भनाई छ । नेपालमै धमाधम माछा पालन गर्न थालेपछि खाने माछाको आयातमा कमि हुन थालेपछि सिद्रा माछाको माग समेत नेपालमा घटेको छ । फ्रेस माछा स्थानीय स्तरमै उत्पादन हुन थालेपछि उपभोक्ताको आर्कषण सिद्रा माछामा घटेसँगै माग घटेको हो ।
आर्थिक वर्ष २०७०/०७१ मा ८८ दशमलव ५३ मेट्रिक टन आयात भएको सिद्रामाछा आर्थिक वर्ष २०७१/०७२ मा एक्कासी बढेर २ सय ६८ दशमलव १६ मेट्रिक टनमा उक्लिएको थियो । त्यसपछिका वर्षमा यो आयात ओरालो लागेको छ । आर्थिक वर्ष २०७२/०७३ मा १ सय ५ दशमलव ९८ मेट्रिक टनमा द्रिा आयात भएपनि लगत्तै आर्थिकवर्ष २०७३/२०७४ मा पूर्वी नाका भएर ८३ दशमलव ११४ मेट्रिक टन मात्र सिद्रा आयात भएको थियो । यो संख्या आर्थिकवर्ष २०७२/०७३ को तुलनामा २१ दशमलव ५८ प्रतिशले कमि हो । त्यो वर्ष १ सय ५ दशमलव ९८७ मेट्रिक टन सिद्रा माछा आयात भएको कार्यालयले जनाएको छ । आर्थिकवर्ष २०७४/२०७५ मा ७६ दशमलव ३६ तथा वितेको आर्थिक वर्ष २०७५/२०७६ मा ७५ दशमलव ५ प्रतिशत मेट्रिक टन सिद्रा माछा आयात भएको छ ।





