पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण


५ जेष्ठ २०८३, मंगलवार १२:५९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो । केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गर्नुभयो ।

सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गर्नुभयो । उहाँले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबीच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । 

सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाउनु भयो । वि.सं. २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उहाँको तर्क थियो । सांसद थेबेले अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here