काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो । सभापती देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गर्नुभयो ।
नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।