नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या


२३ भाद्र २०८१, आईतवार १७:०३ मा प्रकाशित

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आईतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताउनु भयो ।

उहाँले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताउनु भयो । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताउनु भयो ।

उहाँकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताउनु भयो । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताउनु भयो । 

विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण रहेको बताउनु भयो । विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उहाँले बताउनु भयो ।

विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाँै भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here