मेचीनगरमा कालाजारको रोगी फेला, औषधि छर्किने अभियान सञ्चालन


५ श्रावण २०७६, आईतवार १७:१० मा प्रकाशित

झापा । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि यस रोग विरुद्ध नगरपालिकाले विभिन्न वडामा कीटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ ।

नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको शाखा संयोजक शशीकला राईले बताइन् । केहीदिनअघि नगरको १५ नम्बर वडामा कालाजारको नयाँ रोगी फेला परेका थिए ।

वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्च बापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।

त्यस लगत्तै नयाँ रोगी खोज्दैं जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारी सहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर किटनाशक विषादी छिटकाउ गर्ने तथा अन्य रोगीको खोजी तथा शीघ्र निदान गरी उचित उपचार चेतनामुलक स्वास्थ्य शिक्षाको प्रबन्ध मिलाएको जनाइएको छ । नगरको ६,१५, ८ लगायतका वडामा किटनाशक बिषादी छिटकाउ अभियान सञ्चालन भएको फोरमेन थामबहादुर थापाले जानकारी दिए ।

संयोजक राईका अनुसार यो एउटा सरुवारोग जसलाई लिसमेनियासिस पनि भन्ने गरिएको छ । यो रोग संक्रमित पोथीजातको फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाको टोकाईबाट सर्ने गर्दछ । यी भुसुनाहरु अति नै गरीब समुदायका झुपडी घरहरुमा, माटो र गोबरले लिपेको भित्ता चर्केको, घुर्घुरेले माटो उठाएको, फोहोर थुपारेको ओसिलो, मुसाले दुलो पारेको, गोबरको गुईठा बनाएर चाङ पारेर राखेको, गाई भसीको गोठ आदिमा बस्ने र त्यही फुल पार्ने उनको भनाई छ । एक पटकमा भुसुनाले ५० देखि १०० वटा सम्म फुल पार्दछ ।

यो रोगको संक्रमणकाल करीब १० दिन देखि २ वर्षको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । दुई वा दुई हप्ता भन्दा बढि समयसम्म मन्द ज्वरो आइरहने, अनियमित ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउदै जाने, कमजोरी हुने, तौल कम हुने,फियो बढने, कलेजो बढने, रक्तअल्पता हुने, शरिरको रङ्ग फुस्रो देखिने र हात खुट्टा अनुहार र शरीरको छाला कालो हुदै जानु कालाजार रोगका लक्षणहरु रहेको बताउछन् स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत बेदप्रसाद घिमिरे ।

यो रोग सबै उमेर समुहका मानिसमा हुन सक्ने भए पनि प्रायः१५ वर्ष माथिका व्यक्तिहरुमा बढि पाइएको छ भने महिलाहरुको अनुपातमा पुरुषहरु यो रोगबाट दोब्बरको संख्यामा पीडित छन् । महिलाहरुले शरीर ढाक्ने गरी कपडा लगाउने र पुरुषले शरीरका धेरै भाग खुला राखेका कारण महिलाको तुलनामा पुरुषको संख्या बढेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस रोगबाट बच्नको लागि व्यक्ति तथा वातावरणीय सरसफाइ गर्ने, झुलको प्रयोग गर्ने, किटनाशक बिषादी छिटकाउ गर्ने, रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार गर्ने, स्वास्थ्य शिक्षा दिने आदि जस्ता विभिन्न विधीहरु अवलम्बन गर्न सकिने स्वास्थ्य बिज्ञहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here