बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैंया बराबरको सोलार बत्ती वितरण गरेको छ ।
गरीबी न्यूनिकरण तथा वैकल्पिक उर्जा अन्र्तगत विपन्न उपभोक्तालाई सामुदायिक वनले आइतबार एक कार्यक्रमको आयोजना गरी उपभोक्ता भित्रका ती परिवारलाई सोलार बत्ती वितरण गरेको हो । बजेटको ३५ प्रतिशत रुपैंया गरीबी न्यूनिकरणको क्षेत्रमा खर्च गर्नुपर्ने रकम अन्तर्गत सो कार्य गरिएको हो । वन समितिका अध्यक्ष तिलनारान रिजालको सभापतित्व तथा बुद्धशान्ति–३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विपन्न उपभोक्तालाई सोलान बत्ती वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशेष अतिथि बुद्धशान्ति कार्यपालिका सदस्य भगवती न्यौपाने लगायतले सामुदायिक वनले गरेको सो कार्यप्रति प्रसंसा व्यक्त गर्दै गाउँपालिकाले गर्नुपर्ने कार्यमा सक्दो साथ सहयोग उपलब्ध गराउने बताए । समिति अध्यक्ष रिजालले उपभोक्ताको सहजताका लागि सो कार्य गरिएको बताए । त्यस्तै उपाध्यक्ष खगेन्द्र आचार्यले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै हात्ती पिडीत यस क्षेत्रका विपन्न उपभोक्तालाई विद्युत नभएको समयमा सोलार बत्तीले ठूलो राहत दिने बताए ।
समितिका उपाध्यक्ष खगेन्द्र आचार्यले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा वडा सदस्य तथा समितिका सहसचिव पर्शुराम चेम्जोङ, सल्लाहकार सदस्य खगेन्द्र ढकाल, बुद्धशान्ति सामुदायिक वन महासंघ सदस्य हिरा सुवेदी, अनुगमन समितिका नेत्रप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए । कोषाध्यक्ष शिखा घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मिना अधिकारीले सञ्चालन गरेकी थिइन् । सो सामुदायिक वनले उपभोक्तालाई ग्यास, गोबर ग्यास, सोलार जस्ता सामग्री वितरण गर्दै आएको छ ।
राज्यले विद्यार्थीलाई खाजा खर्च कटौती गरेपछि सो वनले कार्यक्षेत्र भित्रका ३ विद्यालयका विद्यार्थीहरुलाई खाजा खर्च वापत प्रत्येक विद्यालयलाई आव २०७५/०७६ मा एक/एक लाख रुपैंया उपलब्ध गराएको थियो । आदर्श नमुना सामुदायिक वन जिल्लाका ५९ सामुदायिक वनहरु मध्ये उत्कृष्ट वनका रुपमा भरखरै पुरस्कृत भएको बन समिति अध्यक्ष रिजालले बताए ।





