पहिरोका कारण देशका कुनैपनि सडक दुई घण्टा बढी अवरुद्ध हुन दिदैनौँः मन्त्री दाहाल


२ भाद्र २०८१, आईतवार १७:३९ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताउनुभएको छ । आईतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताउनुभएको हो ।

उहाँले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गएपनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो ।

उहाँले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनु भयो । नागढुंगा–मुग्लिङ सडक खण्ड एक घण्टा भन्दा बढी समय अवरुद्ध हुन नदिइएको उहाँको भनाई छ । मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाईको काम प्रदेशलाई पनि दिइने बताउनु भयो । उहाँले छपाईको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाई गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताउनु भयो ।

चालकले अनुमतिपत्र नपाउञ्जेलसम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरिय बनाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँले नारायणघाट–बुटवल सडकखण्ड निर्माणको विषय सरकारको टाउको दुखाइको विषय बनिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रयास भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here