डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने


३१ श्रावण २०८१, बिहीबार १२:५४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताउनु भयो । उहाँले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताउनु भयो ।

उहाँले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताउनु भयो । उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो । 

मन्त्री पौडेलले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेको बताउनु भयो । उहाँले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताउनु भयो । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि बताउनु भयो । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ ।

यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरु बताउँछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here