काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाउनु भयो ।
सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरुलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको बताउनु भयो । उहाँले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको बताउनु भयो ।
उहाँले अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भिर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भिर परिस्थितिको सिर्जना भएको बताउनु भयो । उहाँले अख्तियार जस्तो संस्थाले पनि नेपाली जनताले बुझ्ने गरी राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले डेडिकेटेड ट्रंकलाइन वक्यौताका तथ्य र प्रमाण रहेको भनाईलाई कसैले असत्य प्रमाणित गरिदिए टुडिखेलमा राखेर झुण्डिन तयार रहेको बताउनु भयो ।सभापति पोखरेलले विद्युत प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी कसरी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अघिल्लो सरकारले १६ अर्ब कुन सेटिङमा छुट गरिएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले राज्यको यत्रो ठूलो सम्पती दुरुपयोग गर्न नमिल्ने भन्दै वक्यौता रकम उठाउनको लागि समिति लागि परेको बताउनु भयो । उहाँले महालेखाले वक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गर्नुभयो । पोखरेलले आफूलाई विद्युतको वक्यौता महशुल उठाउनु पर्छ भन्दा भ्रष्टाचारीको आरोप लगाइएको बताउनु भयो ।
तर माओवादीका मन्त्री हुँदा सरकार, विद्युत प्राधिकरण र व्यवसायीको मिलेमतोमा आयोग बनेर व्यवसायीलाई विद्युत महशुलमा छुट दिने काम गरिएको बताउनु भयो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ वैशाख २७ गते सो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले तत्कालीन सरकारले बनाएको आयोगले १६ अर्ब रुपैँया छुट दिएको बताउनु भयो । तत्कालीन मन्त्रीपरिषद्को बैठकले एकै दिन दुई खालका निर्णय गरेर यस्तो काम गर्नुको पछाडि आर्थिक चलखेल भएको उहाँको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भित्र व्यापक अनियमितता भएको उहाँले बताउनु भयो ।
विद्युत प्राधिकरणले आफूलाई आवश्यक पर्ने भन्दा बढी सामान हेटौँडा र भक्तपुरमा किनेर थुपारेको पोखरेलले बताउनु भयो । उहाँले आफूबाट एउटा टिपोर्ट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिनुभयो । व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ले उक्त टिपोर्ट बाहिर ल्याएको भन्दै आरोप लगाउनु भयो । जनताको प्रतिनिधि व्यापारी र प्राधिकरणको दलाल हुन नहुने बताउनु भयो ।