उपसमितिले दिएको सुझावहरु कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन


२५ श्रावण २०८१, शुक्रबार १५:०३ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न ३ वटा उपसमिति गठन गरेको थियो ।

सो उपसमितिहरुले समिति समक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनहरुमाथि छलफल गरेर समितिले ति प्रतिवेदनले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले मोरङको बिराटनगर बाल सुधारगृह तथा मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ को सुझावलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै वीरगञ्जको बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ र बाँकेको जयन्दु बाल सुधार गृह र बाँके, बर्दिया र सुर्खेत जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा रहेका सुझावहरु कार्यान्वयन गर्नका लागि गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिनुभयो । 

समितिले उपसमितिको प्रतिवेदनमा नसमेटिएका सुझावहरु पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here