हवाई उड्डयनको क्षेत्रमा समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छः मन्त्री पाण्डे


२४ श्रावण २०८१, बिहीबार १३:२८ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाईनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

बुधवार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यसलगत्तै बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो दुर्घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

घटना विशेषको छानविनका लागि सो समिति गठन गरेपनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री परिषद बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराउनु भयो । उहाँले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिनुभएको पनि बताउनु भयो । मन्त्री पाण्डेले अब बस्ने मन्त्रीपरिषद् बैठकले सो आयोग बनाउने दाबी पनि गर्नुभयो । 

मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो ?  अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here