सडक दुर्घटना न्युनिकरणका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्छः गृहमन्त्री लेखक


२२ श्रावण २०८१, मंगलवार १७:२६ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरु अवलम्बन गर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्ने बताउनुभएको हो ।

उहाँले सडक दुर्घटनाहरु निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरु न्युनिकरण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरु अवलम्बन गर्ने स्पष्ट पार्नुभयो । उहाँले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सडक दुर्घटना न्युनिकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरुको भुमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरुलाई पत्राचार गर्ने जानकारी दिनुभयो । चितवन जिल्ला भरतपुर महानगरपालिका २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौंबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए ।

त्यस्तै वीरगञ्जबाट काठमाडौंको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जिवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here