भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताउनुभएको छ ।


१९ श्रावण २०८१, शनिबार १६:१७ मा प्रकाशित


काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताउनुभएको छ । शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी छिटोभन्दा छिटो दिइने बताउनुभएको हो ।

उहाँले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने भन्दै काम सकेर बिल फछ्र्यौट गरिसकेकाहरुले भुक्तानी पाउनुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण संकलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताउनु भयो । उहाँले जति छिटो विवरण संकलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने बताउनु भयो । 

मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले आफूहरु पनि विगतको सरकारमा रहेको र आफूहरुले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने बताउनु भयो ।

उहाँले भौैतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरुपनि सय प्रतिशत कार्यान्वयन गराउन लाग्ने बताउनु भयो । उहाँले सबै कार्यान्वयन नभए ९० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

उहाँले कानूनी अड्चन, वन र क्षतिपूर्ति लगायतका समस्याका कारण भौतिक संरचनाहरु निर्माणमा ढिलाइ हुने गरेको बताउनु भयो । उहाँले निर्माण सम्पन्न हुन ढिलाइ भएका आयोजनाहरुको सम्बन्धमा अध्ययन गर्न समिति बनाउने र समितिको प्रतिवेदनको आधारमा समस्याहरु समाधान गर्ने बताउनु भयो । उहाँले एक वर्षभित्र परिणाम दिनेगरी काम गर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here