पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री ओलीको निर्देशन


१५ श्रावण २०८१, मंगलवार १६:५८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

मंगलवार सिंहदरबारमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । उहाँले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरुको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

उहाँले राजश्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने बताउनु भयो । उहाँले तत्काल करका दरमा हेरफेर गर्न नसकिने भएपनि सक्नेजति सहज बनाइने बताउनु भयो । उहाँले शेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘राजश्वको दर बढाउने होइन, दायरा बढाउनु पर्छ । दर बढाएर तिर्ने नसकेपछि के गर्ने ? व्यवसायीलाई घुँडा टेकाएर मात्रै हुँदैन । दायरा र कारोबारको भोलुम बढाउने हो । धेरै भोलुमबाट करका दरले पनि धेरै आइहाल्छ । अहिले तत्काल त हामी करका दरमा हेरफेर गर्न नसकौँला तर जसरी सकिने हो त्यसरीसम्म गर्दा राम्रो हुन्छ । व्यवसायिक वातावरणमा हामी जानुपर्छ । मौद्रिक नीति जारी गरेका छौँ । मौद्रिक नीतिबाट राम्रो भएको छ । त्यो राम्रो र उत्साहलाई कायम राखेर हामी अघि जानुपर्छ । शेयर मार्केट मात्र चलायमान हुने होइन सिंगै मार्केट हामी चलायमान गराउँछौँ । सिंगै सामाजिक,आर्थिक क्रियाकलाप चलायमान बनाउँछौँ । हामीले तयार गरिसकेका संरचनाहरु सञ्चालन गर्न स्थानीय निकायहरुको ल्याकत छैन । त्यो सञ्चालन गर्नुपर्छ । पोखरा विमानस्थलहरु छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त । त्यो त चलाउनु पर्छ नि । त्यत्रो पैसा खर्च गरेर चलाउनुपर्छ । भैरहवा एयरपोर्ट त्यस्तै छ । कहाँ संवाद गर्नुपर्छ, सुधार गर्नुपर्छ गरौँ । तर सञ्चालन गरौँ । धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन् । पार्किङ छ, व्यवस्थित भएको छैन ।’

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भएमात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भएमात्रै आयात गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

उहाँले तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्न पनि निर्देशन दिनुभयो । उहाँले निजी क्षेत्रलाई हुने झन्झिटिलोको समाधान गर्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here