विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई


१५ श्रावण २०८१, मंगलवार १७:०० मा प्रकाशित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताउनुभएको छ ।

मंगलवार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताउनु भयो । उहाँले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताउनु भयो ।

मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरुलाई समयानुकलु परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउने पनि बताउनु भयो । उहाँले सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘विगतमा त्रिभूवन विश्वविद्यालयका ४ वटा अनुसन्धान केन्द्रहरु निकै सक्रिय थिए । राष्ट्रिय जीवनका शिक्षा प्रशासन विज्ञान तथा प्रविधि, अर्थतन्त्र, इतिहास तथा संस्कृति लगायत लगायतका क्षेत्रमा उल्लेख्य अनुसन्धन गर्न र तिनको प्रभाव देशव्यापी रुपमा फैल्याउन सफल थिए । यद्यपी हाल विभिन्न कारणले यि अनुसन्धान केन्द्रहरु अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् । तर नेपाल सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने र नेपाल सरकारका विभिन्न अनुसन्धानहरुलाई समेत विश्वविद्यालयका तिनै अनुसन्धान केन्द्रहरुमार्फत गतिविधि अख्तियार गर्ने र आगामी दिनमा ति केन्द्रहरुलाई नेपाल सरकारको थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । आगामी दिनमा यसको लागि समेत प्रयत्न अघि बढाइनेछ । नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त छ । रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेका छन् । तिनलाई स्वदेशमा नै उनीहरुको मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्न पनि हाम्रो ध्यान जानु आवश्यक छ । यसका लागि हामीले हाम्रा शैक्षिक कार्यक्रमहरुलाई समयानुकलु परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ ।’

मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाईका साथ लागू गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here