झापा । झापाको मेचीनगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार तनाव व्यवस्थापनका विषयमा तालिम सम्पन्न भएको छ ।
मेचीनगर लेडी जेसीजले यो वर्ष जेसीज सप्ताहलाई तालिम सप्ताहका रुपमा विभिन्न विषयमा सात दिवशिय तालिम आयोजना गरेको छ । वर्ष २०१९ लाई नेपाल जेसीजमा रहेका १ सय ५० वटै शाखाहरुमा तालिममय बनाउने योजना छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक राजबाबु साहले समयमै तनाव व्यवस्थापन गर्न नसके मानिसले अनेक समस्या व्यहोर्नुपर्ने बताए । तनावकै कारणले पनि धेरैको मृत्यु समेत हुने गरेको छ ।
उनले दैनिक जीवनलाई अझै उत्पादनशील क्षेत्रमा लगाउन हरेक मानिस तनाव मुक्त हुनुपर्ने र तनाव व्यवस्थापनतर्फ लाग्नुपर्नेमा जोड दिए । दैनिक जीवनमा प्रशंसा र कृतज्ञता प्रकट गर्न सकेमात्र तनावलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने साहले सहभागी प्रशिक्षार्थीहरुलाई जानकारी दिए । यी दुईवटा कुरालाई सकरात्मक रुपमा लिने हो भने मात्र जीवनमा परिवर्तन आउने साहको भनाई छ ।
तनावले जहिले पनि हरेक मानिसलाई सताइरहेको हुन्छ यसबाट मानिस मुक्त हुन चाहान्छ तर, यसको व्यवस्थापनमा ध्यान दिन नसक्दा हरेक प्रकारका रोगको शिकार हुने उनको भनाई थियो । मानिस जुनसुकै क्षेत्रमा भएपनि कुनै न कुनै कुराको तनाव हुने भन्दै उनले अब तनावलाई हेर्ने र बुझने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
संस्थाकी अध्यक्ष मञ्जु भण्डारी खनालको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानिसले तनावलाई सहिरुपमा व्यवस्थापन गर्न सके र बुझे मात्र धेरै रोगबाट मुक्ति पाउने विश्वास व्यक्त गरेका थिए । अहिले धेरै मानिसहरु तनावका बीच दैनिक कार्यमा तल्लिन भएको बताउँदै उनीहरुले तनावलाई व्यवस्थापन गर्न सकेमात्र धेरै कुराबाट पार पाउने बताए ।
कार्यक्रममा नेपाल जेसीज क्षेत्र ए का तालिम संयोजक कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेल, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना लगायतले बोेलेका थिए ।





