काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताउनुभएको छ ।
राजनीतिक गतिविधिहरूमा युवा पुस्ताको न्युन उपस्थितिलाई लिएर उहाँले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । आईतवार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गर्नुभयो ।
पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनहरूमा युवा सहभागिताको खाडल बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग ‘कनेक्सन’ (सम्बन्ध) र ‘कम्युनिकेसन’ (सञ्चार) गर्न नसकेको स्वीकार गर्नुभयो ।
नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उहाँको तर्क छ । मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्नका लागि पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । –न्युज एजेन्सी नेपाल






