स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित


४ जेष्ठ २०८३, सोमबार १६:२३ मा प्रकाशित


काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको कीर्तिमान बनेको दिन नेपालले आइसिसी विश्वकप लिग–२ को श्रृङ्खलामा स्कटल्याण्डमाथि जित निकालेको छ ।


घरेलु मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा स्पिनरको बलियो साथ पाउँदा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको हो । लिग–२ को अंकतालिकामा शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका सम्मेलित श्रृङ्खलामा तीन खेलबाट नेपाले यो दोस्रो जित आत्मसात ग¥यो ।

२७ खेलबाट नेपाल २२ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यो जितसँगै नेपालले नामिबिया र क्यानडालाई पछि पारेको छ । नामिबियाको २८ खेलबाट २२ अंक र क्यानडाको २४ खेलबाटै २१ अंक छ । शिर्ष चारभित्र अटाउन नेपाल अझै चार अंकले पछाडि छ ।

चौथो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट नै २८ अंक छ । नेदरल्यान्डको भ्रमणअघि शीर्ष दुई टोलीमाथि नेपाललाई आत्मबल प्रदान गर्नेछ । यसअघि श्रृङ्खलाको पहिलो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । दोस्रो भेटमा भने नेपालले स्कटल्याण्डमाथि बाजी मार्यो ।

नेपालको जितमा स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले संयुक्त सात विकेट लिए । सन्दीपको नाममा तीन विकेट रह्यो । यससँगै उनले अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको छिटो १५० विकेटको कीर्तिमान पछि पारे । स्टार्कले ७७ खेलमा पूरा गर्दा सन्दीपले ७३ खेलमा नै सफलता पाए । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले एक सय ९५ रनको सामान्य लक्ष्य दिएको थियो । तर नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पहिलो विकेटको लागि ५८ रनको साझेदारी हुँदा घरेलु टोलीले मध्यम सुरुआत पायो ।


ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच तालमेलको अभावमा पहिलो विकेट गुम्यो । आशिक २९ रनमा रनआउट भए । खातामा थप एक रन जोड्दा कुशल (२८ रन) पनि पभेलियन फर्किए । २७ बल खेलेका कुशलले चार चौका र एक चक्का प्रहार गरे ।

१७ बल खेलेका आसिफको इनिङमा तीन चौका र दुई छक्का रह्यो । ७.२ ओभरमा नेपाल ५९÷२ को अवस्थामा थियो । अमेरिकाविरुद्ध यी दुईले १४५ रनको बलियो साझेदारी गरेका थिए । स्कटल्यान्डसँगको दोस्रो खेलमा तालमेल बिग्रदा राम्रो सुरुआत दिन असफल भए । तर, तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र ईशान पाण्डेले एक सय ४ रनको सतकीय साझेदारी गर्दै जितको आधार बनाए ।


यस क्रममा ईशान दोस्रो एकदिवसीय खेलमै अर्धशतक बनाउन सफल भए । अघिल्लो खेलमा अमेरिकाविरुद्ध उनले डेब्यु गरेका थिए । ईशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो । २९.५ ओभरमा नेपाल १६३÷३ को अवस्थामा थियो । जतिबेला नेपाललाई जितका लागि ३२ रनका आवश्यक रह्यो । तर लयमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमै आउट भए । यद्यपि कप्तान रोहित र आरिफ शेखले पाँचौं विकेटका लागि ३२ रनको अविजित साझेदारी गर्दै जित दिलाए ।  रोहितले छक्का प्रहार गर्दै ७१ बल अगाबै जित सुरक्षित गरे ।


उनी ७४ रनमा र आरिफ ८ रनमा अविजित रहे । रोहितले ९८ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । स्कटल्यान्डको बलिङमा मार्क वाटले दुई विकेट लिँदै नेपाललाई दबाब दिने प्रयास गरे । ब्रेन्डन म्याकमुलनको नाममा एक विकेट रहँदा नेपालले एक विकेट रनआउटको रुपमा गुमायो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रनको योगफलमा अलआउट भयो ।


खराब सुरुआत पाएको स्कटल्यान्डका लागि  म्याकमुलेनले ७३ रनको अर्धशतकीय इनिङ खेले । यो नै ठूलो व्यक्तिगत स्कोर रह्यो । म्याकमुलनले ४४ बलमा ६ चौका र ६ छक्का हिर्काए । उनले दोस्रो विकेटका लागि ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे । मुन्से ३१ बलमा २१ रनमा आउट भए । दीपेन्द्रले ओपनर फिन्ले म्याककृथलाई ६ रनमा आउट गर्दै राम्रो सुरुआत दिलाए ।


मध्य क्रमका ब्याटर माइकल इङ्ग्लिस ७२ बलमा ५१ रन बनाएपछि पाहुना टोली दुई सय रनको योगफल नजिक पुगेको हो । स्पिनर ललितले उनलाई आउट गर्दै दशौं विकेट लिएका थिए । इङ्लिसले चार चौका र एक चक्का हिर्काए । मार्क ३४ बलमा २० रनमा आउट भए ।


नेपालको बलिङमा ललितले चार, सन्दीपले तीन तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रले समान एक विकेट लिए । नेपालले शृङ्खलाको अन्तिम खेल शुक्रवार अमेरिकासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here