मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा बित्न नपाउँदै मोटरसाइकल सहित त्यसमा संलग्नलाई पक्राउ गरेको छ ।
विहीबार राति करीब साढे १० बजेतिर मेचीनगर–६ काँकरभिट्टाका मोहन रायको रातो रंगको २ सय सीसीको को २१ प ३६७० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । घटनाका बारेमा जानकारी पाउन साथ शंकाष्पद क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । कार्यालयबाट खटिएको क्यूआरटिको टोलीले एकघण्टा पनि बित्न नपाउँदै काँकरभिट्टा क्षेत्रबाट मोटरसाइकल सहित घटनामा संलग्न अर्जुनधारा-५ बस्ने १९ वर्षीय हरि राजवंशीलाई पक्राउ गरेको थियो ।
मोटरसाइकल धनीको लिखित जाहेरीका आधारमा राजवंशीलाई चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको छ । उनलाई शुक्रबार झापा जिल्ला अदालत उपस्थित गराइएको कार्यालयको मुद्दा शाखाले जनाएको छ । केही दिनयतादेखि झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि झापा प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।





