मेचीनगर । अघिल्लो आर्थिक वर्ष २०७४/२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व वृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले बितेको आर्थिक वर्ष २०७५/२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको छ ।
भन्सार अधिकारीहरुका अनुसार लक्षित राजस्व संकलन नहुनुको मुख्यः कारण भारतको कोलकत्ताबाट यो नाकाहुदैं भित्रने कोइला, क्लिङ्कर तथा बङ्लादेशबाट नेपाल आउने पेय पदार्थमा कमि आउनु हो । प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार मेची भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०७५/२०७६ मा ११ अर्ब ८२ करोड ६१ लाख १ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा १० अर्ब ९ करोड ९५ लाख ७३ हजार रुपैयाँमात्र राजस्व संकलन गर्न सफल भयो । जुन रकम लक्ष्यको तुलनामा १५ प्रतिशले कमि हो ।
अघिल्लो आर्थिक वर्ष २०७४/२०७५ मा भन्सारले ९ अर्ब २० करोड ९१ लाख ४१ रुपैयाँ वार्षिक लक्ष्य पाएको भएपनि ९ अर्ब ७४ करोड ३ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको थियो ।
कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बङ्लादेशबाट नेपाल आउने पेय पदार्थले धानेको छ । चैतदेखि कोइला र क्लिङ्कर बन्द तथा केही महिनादेखि पेय पदार्थको आयात ठप्प भएकाले कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको भन्सार अधिकारीहरुको भनाई छ ।





