एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौंः शिक्षामन्त्री भट्टराई


२ श्रावण २०८१, बुधबार १७:४२ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताउनुभएको छ । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले आफूले त्यसको कार्यान्वयनका लागि कम्तिमा एक महिनाभित्र कार्ययोजना तय गरेर अघि बढ्ने बताउनु भएको भयो । उहाँले सो ऐन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि आफूले छलफल गरेर अघि बढ्ने बताउनु भयो । विद्यालय शिक्षा ऐनसँग पनि सो ऐनलाई म्याचिङ गरेर अघि बढाउने मन्त्री भट्टराईको योजना छ ।

उहाँले शिक्षा प्रणालीमा पुनर्विचार गरेर त्यसलाई नतिजामुखि बनाउने काममा पनि आफू लागिपर्ने बताउनु भयो । मन्त्री भट्टराईले एसईईको पूरक परीक्षाको व्यवस्थापनको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको पनि बताउनु भयो । 

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सांसदहरुले दिएको सुझावलाई आफूले ग्रहण गरेर अघि बढ्ने बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयकसम्बन्धि छलफललाई समय सीमा तोकेर अघि बढाउन पनि संसदीय समितिलाई आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here