वाइवाइद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण


२ श्रावण २०८१, बुधबार १७:३८ मा प्रकाशित

चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टि–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरि प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।

त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही अनुसार नेपाली क्रिकेट टिमले पाएको नतिजाअनुसार रकम हस्तान्तरण गरिएको हो ।

सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन नुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको र नेपाली टिम बधाईको पात्र रहेको बताउनु भयो । उहाँले नेपालको क्रिकेटमा हुनुपर्ने जति विकास हुन नसकेको भन्दै अब खेलकुदमा केही हुने लक्षण देखिएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले विश्वकपमा गरेको प्रदर्शन नेपाली टिमलाई माया गरेको नतिजा भएको बताउनु भयो । नेपाली टिमले विश्वकपमा राम्रो प्रदर्शन गरेको बताउनु भयो । उहाँले नेपाली क्रिकेट टिमले आगमी दिनमा अझ बढी राम्रो गर्ने बताउनु भयो । उहाँले सिमित श्रोत साधनका बीचमा नेपालले गरेको प्रदर्शन उच्च रहेकाले टिमलाई दबाब दिन नहुने बताउनु भयो । 


कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटलाई हौसला प्रदान गर्नका लागि सिजी ग्रुपले गरेको सहयोग उच्च रहेको बताउनु भयो । उहाँले खेलाडीका लागि यस्ता प्रोत्साहनले उर्जा आउने बताउनु भयो । उहाँले विश्वकपमा नेपालले आफूले सकेको प्रदर्शन गरेको र आफूहरु त्यसमा सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली टोलीले आगामी दिनमा झनै राम्रो खेल खेलेर समर्थकलाई खुशी पार्ने बताउनु भयो । 


नेपाल आईसिसि टि–२० विश्वकप खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने बताएको छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here