झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज चौथो पटक प्रधानमन्त्री बन्दैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपतिसमक्ष संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चौथो पटक प्रधानमन्त्री बन्दै गरेका ओलीले भोलि शपथ लिनेछन् । भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।
साथै, मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि भोलि नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिव–करिब समझदारी बनिसकेको बताए ।
कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो । बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ । जनमतलाई संघीय सरकारमा समेत सामेल गराइने भएमा उसलाई एमालेको भागको एक मन्त्रालय दिने समझदारी बनेको बताइएको छ ।