६५ यात्रु बोकेका दुईवटा बस त्रिसुलीमा खसे, खोजी कार्य जारी


२९ असार २०८१, शुक्रबार १०:३६ मा प्रकाशित

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा बस भेटिएका छैनन् । ती बस तथा बसमा सवारहरूको खोजीकार्य भने जारी छ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा लेदो सहितको पहिरोले दुई वटा बस बगाएको थियो। शुक्रबार बिहान पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। दुवै बसमा ६५ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले खोजबिनमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको यादवको भनाइ छ।

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गरिरहेको छ। हालसम्म बस फेला पर्न नसकेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

शुक्रबार बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना सवार थिए।

काठमाडौं र वीरगन्जमा गाडी नम्बर र चलानीबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। यद्यपि वास्तविक विवरण प्राप्त हुन बाँकी नै रहेको रिजालको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here