विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छः प्रमुख निर्वाचन आयुक्त थपलिया


१५ असार २०८१, शुक्रबार १३:२६ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताउनु भयो ।

उहाँले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताउनु भयो । उहाँले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताउनु भयो । उहाँले वाह्य मतदान ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको पनि बताउनु भयो ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले निर्वाचनको मुल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here