राष्ट्रिय वृक्षारोपण दिवसमा मधेसका ८ वटै जिल्लामा वृक्षारोपण


१५ असार २०८१, शुक्रबार १३:१६ मा प्रकाशित

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मधेसका ८ वटै जिल्लामा वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मधेसको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले जनकपुर जटही ६ लेन सडकखण्ड अन्तर्गत राष्ट्रिय वृक्षारोपण दिवस २०८१ अवसर पारेर वृक्षारोपण गर्नुभयो ।

मधेस सरकारले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो । यो अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । यद्यपि वर्षभरमा एक करोड बढी वृक्षारोपण गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

रोपिएका बिरुवाहरुको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षारोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

मधेसमा दिनदिनै वन विनाश भईरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाहरुको संरक्षण गर्नेगरी वृक्षारोपण अभियान ८ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनु भयो । मधेसमा १ सय १ हेक्टर जग्गामा डेढ लाख बढी बिरुवा रोपिएको घिमिरेले जानकारी दिनुभयो ।


धनुषाका डिभिजन वन अधिकृत बेचन चौधरीले धनुषाको ३० हेक्टर जग्गामा यो अभियान अन्तर्गत ५० हजार बढी वृक्षारोपण गरिने जानकारी दिनुभयो ।
अभियान अन्तर्गत मधेसको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here