वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


१६ असार २०८१, शनिबार १७:३९ मा प्रकाशित

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए ।

विगतमा नेपाल २ ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौं । तर कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन,’ उनले भने, ‘विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’

व्यवस्थामा आएको परिवर्तन अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोसिस जारी रहेको बताउँदै उनले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए ।

‘दशकौं लामो संघर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौं,’ उनले भने, ‘सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरण सहितको संघीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धि प्राप्त गरेका छौं ।’

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकांक्षा जगाइदिएको परिस्थितिमा जनताको आकांक्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै उनले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपिल गर्दछु – साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौं । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौं र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौं,’ उनले भने, ‘इतिहास, हाम्रा स्कूल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने संकल्पका साथ खुला हृदयले बहस गरौं र उचित निष्कर्षमा पुगौं ।’

निरंकुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here