विपद् ब्यवस्थापनका लागि एकजुट हुने झापाली संस्थाहरूको प्रतिबद्धता


९ असार २०८१, शनिबार ०८:२९ मा प्रकाशित

झापा । झापामा रहेका विभिन्न संघ संस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको विपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाइ छ ।

सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाव दिए ।

उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकममध्ये केही रकम मौज्दात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाव दिए ।

‘एकका लागि एक अभियानमार्फत जम्मा भएको रकममध्ये ८० लाख रुपैयाँ रहेको र त्यसको ब्याजसहित झण्डै एक करोड रुपैयाँ खातामा मौज्दात छ’ अध्यक्ष गिरीले भने, ‘अब हामीले पाँच करोड रुपैयाँको कोष स्थापना गर्न चार करोड रुपैयाँ मात्र जम्मा गर्नु पर्छ ।’

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले विपद्बारे अध्ययन र योजना बनाउन नसक्दा बाढीजन्य विपद्का कारण बर्षेनि झापाबासीले समस्या ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरण गर्नका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्मसमेत रहेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विपद् व्यवस्थापनका लागि पूर्वतयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here