मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेलम्चीका मेयर तामाङ


३ असार २०८१, आईतवार ११:३१ मा प्रकाशित

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन् ।

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानी तथा नोक्शानी र मेलम्ची बाढी विषयक नीतिगत छलफलमा तामाङले संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची-हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोमा आपत्ति जनाए । मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै तामाङले संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको बताए ।

‘मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो ? नीति तथा कार्यक्रममा आउन सकेन । संघीय सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्‍यौँ मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन । प्रदेश सरकारबाट पनि मेलम्चीको बारेमा नीति तथा कार्यक्रममा केही आएन भने हामी त्यत्तिकै बसेर उपयुक्त हुँदैन,’ तामाङले भने, ‘स्थानीय सरकारले पनि केही गर्नुपर्छ । मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रूपमा नसके पनि अस्थायी रुपमा हामीले गरिरहेको अवस्था छ ।’

मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको तामाङको गुनासो छ । स्थानीयको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ । हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन,’ तामाङले भने, ‘प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले यो सम्बोधन हुनुपर्छ ।’

संसदको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिने कुरामा जोड दिनुपर्ने बताइन् । मेलम्ची खानेपानी परियोजनाले कुनै पनि हानी नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताइन् । १२ महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरूले पाउने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भयो, पानी पिउने परिस्थिति भयो भने त त्यसबाट प्राप्त गरेको रोयल्टी यहाँको जनताले पाउने भए नि,’ पन्तले भनिन्, ‘त्यतातिर पनि हामीले सहयोग गर्नेतिर लाग्यौँ भने राम्रो हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here