बिएण्डसी अस्पतालमा विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडायलासिस सेवा शुरु


२० जेष्ठ २०८१, आईतवार १८:३० मा प्रकाशित

झापा । विर्तामोड झापामा रहेको विएण्डसी हस्पिटलमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा संचालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडायलासिस कार्यक्रम संचालनमा आएको छ । 

यस कार्यक्रम अर्न्तगत नेपाल सरकारले तोके वमोजिम मिर्गौलाका विरामीहरुलाई निःशुल्क रुपमा हेमोडायलासिस सेवा प्रदान गरिनेछ । यस कार्यक्रममा कुनै पनि मिर्गौलाका विरामीहरुले निःशुल्क रुपमा हेमोडायलासिस सेवा लिन पाउने छन् ।

यो निःशुल्क सेवा लिनको लागि विरामी अस्पतालको ओ.पी.डी. या इमरजेन्सीमा आएपश्चात चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मिर्गौलामा समस्या देखिएको र मिर्गौलाको हेमोडायलासिस गर्नुपर्ने देखिएमा विरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्वोधन गरि विपन्न नागरिक औषधी कोष अर्न्तगत निशुल्क हेमोडायलासिस सेवाको लागि सिफरिस गरिदिन अस्पतालले सिफारिस पत्र उपलब्ध गराउनेछ ।

विरामीको परिवारका सदस्यले उक्त सिफारिस पत्र सम्वन्धित स्थानीय तहमा पेश गरेपश्चात उक्त पालिकाको प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, र स्वास्थ्य शाखा विभागको प्रमुख रहेको समितिले निर्णय गरि उक्त निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिस पत्र पठाउनु पर्ने बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो । 

स्थानीय तहको उक्त सिफारिस पत्रको आधारमा अस्पतालले विरामीसंग सम्वन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरी विएण्डसी अस्पतालको सामाजिक सुरक्षा इकाईमा पेश गरेपश्चात निशुल्क हेमाडायलासिस सेवा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

अन्य अस्पतालहरूमा हेमोडायलासिस गर्न अघि फिस्टुला बनाउनेदेखि अन्य जटिलता उत्पन्न भएको  खण्डमा अन्य अस्पतालको सेवा लिनुपर्ने अवस्था रहेको तर बिएण्डसीमा भने सम्पूर्ण सेवा उपलब्ध भएको अस्पतालमा बरिष्ठ फिजिसियन डा. गोपाल मिश्रले जानकारी दिनुभयो। 

यो कार्यक्रम अर्न्तगत विरामीको उपचार प्रकृयामा यस अस्पतालमा कार्यरत डा. गोपाल मिश्र, डा. मुक्ती देवकोटा, डा. वाशुदेव वास्कोटा, डा. राजु श्रेष्ठ, डा. अमित कुमार शाह लगायत चिकित्सक एवम् अन्य स्वास्थ्यकर्मीहरुको समूह रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here