बिर्तामोड । झापाको बुट्टाबारीमा ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आजदेखि सुरु हुँदै छ।
बिर्तामोड–६ बुट्टाबारीस्थित हरियाली खेल मैदानमा आज हुने उद्घाटन खेलमा आयोजक बुट्टाबारी युनाइटेड र भारतको सिलिगुढीस्थित तरञ्जुबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा भारतको एकसहित नेपालका सात गरी कुल ८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा आयोजक बुट्टाबारी युनाइटेड, रेडहर्स इलाम, तरञ्जुबारी फुटबल क्लब (सिलिगुढी, भारत), ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफसी झापा, फेयर फुटबल क्लब धरान–सुनसरी, बेलबारी फुटबल क्लब मोरङ र बगान युथ क्लब कचनकवल रहेका छन्।
आयोजक क्लब बुट्टाबारी युनाइटेडका अध्यक्ष प्रविण राईका अनुसार प्रतियोगिताको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ।
त्यसैगरी, प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ खेलाडीलाई २ हजार २ सय रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।






