विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण आधार शिविर यतिबेला पदयात्रीहरूको रोजाइमा परेको छ । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रख्यात छ ।
यात्राको शुरुवात र सौन्दर्य यात्राको प्रवेशद्वार पोखराको फेवातालको मनमोहक रात्रिकालीन दृश्यबाट शुरु हुने यो यात्रा, पदयात्रीहरूका लागि एउटा सपनाको यात्रा जस्तै बन्दछ । उकाली–ओराली, ढुङ्गे खुड्किलाहरू, र कतै गहिरा खोँचहरू पार गर्दै जाँदा देखिने कलकल बग्ने झरना र नीलो कञ्चन पानीका खोलाहरूले यात्राको थकान मेटाइदिन्छन् ।
हिमालको काखमा रमाउँदा अन्नपूर्ण र माछापुच्छ्रे जस्ता विश्व प्रसिद्ध हिमालहरूलाई आँखा अगाडि देख्दा पदयात्रीहरू मन्त्रमुग्ध हुन्छन् । ४,०६० मिटर उचाईमा रहेको ‘कागभुसुन्डी डाँडा’ जस्ता बिन्दुहरूबाट देखिने दृश्यहरू अतुलनीय छन् । हिउँले ढाकिएका चुचुराहरू, बादलले छोपिएका पहाडहरू र चिसो सिरेटोका बीच हिउँका मानव बनाएर रमाउने पदयात्रीहरूको संख्या पनि उल्लेख्य छ ।
वनस्पति र वन्यजन्तुको सान्निध्य यस क्षेत्रमा पाइने अल्पाइन फूलहरू, लेकाली रुखहरू र ढुङ्गाका कापमा उम्रिएका लेउहरूले यस क्षेत्रको जैविक विविधतालाई झल्काउँछन् । हिउँमा रमाउने स्थानीय भोटे कुकुरहरू र रंगीचंगी लुङ्ता (प्रार्थना झण्डाहरू) ले यस पदयात्रालाई सांस्कृतिक र प्राकृतिक रूपमा थप समृद्ध बनाएका छन् ।
पदयात्रीहरूको उत्साह पदयात्राका क्रममा भेटिने क्याम्पिङ साइटहरूमा रङ्गीबिरङ्गी टेन्टहरूमा बसेर रात बिताउनुको छुट्टै आनन्द छ । अग्ला चट्टानी पहाडहरू र छाँगाहरूबाट झरेका झरनाहरूले यो क्षेत्रलाई पृथ्वीको एउटा सानो स्वर्गको रूपमा चिनाएका छन् ।
अन्नपूर्ण पदयात्रा केवल एक हिँडाइ मात्र नभएर प्रकृतिको नजिक पुग्ने र आफैँलाई चिन्न पाउने एक महत्वपूर्ण अवसर हो भन्नेकुरा यहाँ पुग्ने जो कोहीले महशुस गर्दछन् ।






