रोङ गाउँपालिकामा यस बर्षदेखि प्रतिभा खोजी कार्यक्रम सञ्चालन


१० जेष्ठ २०८१, बिहीबार १५:३६ मा प्रकाशित

झापा । इलामको रोङ गाउँपालिकाले यस बर्षदेखि नृत्य, गायन तथा कविता विधामा प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

इलाम र झापाको सीमाना जोर कलशमा बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रतिभाको खोजी कार्यक्रमबारे जानकारी दिइएको हो। प्रतिभाको खोजी कार्यक्रमका लागि गाउँपालिकाले कानून नै निर्माण गरेर निर्देशक समितिसमेत बनाइसकेको छ। गाउँपालिका क्षेत्रका विविध विधाका प्रतिभाशाली व्यक्तिहरूको खोजी गर्नका लागि प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्न लागिरहेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो। 

कविता विधामा सबै उमेरसमूहका व्यक्तिहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। नृत्य र गायन विधामा भने ५ बर्षदेखि ५० बर्षसम्मका व्यक्तिहरूले भाग लिन पाउने निर्देशक समितिले जनाएको छ। तिनवटै विधाका प्रतिभा छनोट एकै समयमा हुने निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिनुभयो। प्रारम्भिक छनोट सबै ६ वटै वडामा गरिने र प्रत्येक विधाबाट ३० छनोट गरि पहिलो चरणको छनोट तिनवटै विधाका ९० जना प्रतिभा लगिने राईले जानकारी दिनुभयो। त्यसपछि दोस्रो र अन्तिम प्रतिस्पर्धामा लगिने उहाँले बताउनुभयो । 

अन्तिम प्रतिस्पर्धामा प्रत्येक विधाबाट पाँच/पाँच जना प्रतिभा लगिने निर्देशक समितिले जनाएको छ। कार्यक्रमको कुल लागत ११ लाख ६२ हजार पाँचसय रुपैयाँ रहेको गाउँपालिका कार्यालयले जनाएको छ। जस्मा ८ लाख रुपैयाँ गाउँपालिका कार्यालयले उपलब्ध गराउनेछ। प्रतिस्पर्धामा निर्णायकमा रोङ गाउँपालिका बाहिरका निर्णायकहरू राखिने निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिनुभयो।

प्रतिस्पर्धाका लागि प्रतियोगीहरूबाट फर्म भर्ने काम सुरु भइसकेको संयोजक राईले बताउनुभयो। फर्म भर्ने काम सम्पन्न भइसकेपछि प्रतिस्पर्धीहरूको संख्याका आधारमा प्रतिस्पर्धाको मिति तय गरिने उहाँले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here