प्रधानमन्त्री प्रचण्डकाे सम्पत्ति विवरण सार्वजनिक


८ जेष्ठ २०८१, मंगलवार १५:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनकाे सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ। साथै प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। उनीसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ।

तर सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानूनी बाध्यता भने छैन। हालै बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री ‘प्रचण्डले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

हुन त यसअघि प्रधानमन्त्री बन्दा पनि प्रचण्डले सम्पत्ति विवरण सार्बजनिक गरेका थिए । तर उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका थिए । कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेको उल्लेख गरेका थिए ।

जसका कारण उनलाई संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो । तर प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन नै देखाएका थिए । अहिले सो जमीन यथावत् रहेपनि सुनमा भने २ तोला थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here