सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराए ।
दलीय प्रतिनिधिका आधारमा नीति तथा कार्यक्रममाथि छलफल हुने जनाउँदै उनले त्यसका लागि सम्बन्धित दलका पदाधिकारीले वक्ता सांसदको नाम बैठक प्रारम्भ हुनु अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न चाहने सांसदले सोको सूचना यही जेठ ९ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म कार्यव्यवस्था शाखामा उपलब्ध गराउनुपर्नेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।