काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले श्रमिकहरु ठगिनु, दुःख पाउनु नहुने बताउनु भयो ।
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिनुभयो ।






