लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या मार्च २ देखि १ हजार ९ सय ५३ पुग्यो


२९ चैत्र २०८२, आईतवार ११:१२ मा प्रकाशित


लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९ सय ५३ पुगेको छ ।

६ हजार ३ सय ३ जना घाइते भएका छन् । मन्त्रालयकाअनुसार गत बुधवार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका छन् ।

जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ कि ठूलो संख्यामा पहिचान नभएका शरीरका अंगहरूको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्न समय लाग्ने भएकाले अन्तिम संख्या निर्धारण गर्न केही समय लाग्नेछ । स्थानीय सञ्चारमाध्यम र घटनास्थलका फुटेजहरूका अनुसार इजरायलले बिहीवार दक्षिण लेबनानका विभिन्न स्थानमा थप भारी हवाई आक्रमण गरेको छ ।

जसमा जरारिया, जिबचित, बुर्ज कालाउयेह र घान्दौरियामा सबैभन्दा घातक आक्रमणहरू रिपोर्ट गरिएको छ । दक्षिण लेबनानमा विनाशको मात्रा बढ्दै जाँदा, आपतकालीन उद्धारकर्ताहरू विभिन्न क्षेत्रहरूमा खोजी र उद्धार कार्यमा संलग्न रहेका छन् ।

जवाफमा हिजबुल्लाहले किर्यत शमोना र मेतुला लगायतका इजरायली सेनाको जमघट र उत्तरी बस्तीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको बताएको छ । समूहले लेबनान विरुद्धको इजरायली–अमेरिकी आक्रमण नरोकिउन्जेल आफ्ना कारबाहीहरू जारी रहने थप गरेको छ ।

पछिल्लो हवाई आक्रमण व्यापक तनावको बीचमा आएको छ जसले लेबनानमा बढ्दो नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता बढाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here