दाङका प्रमुख सहरमा पेट्रोलियम पदार्थको अभाव


१ श्रावण २०७६, बुधबार १२:१२ मा प्रकाशित

दाङ । दाङको तुलसीपुर-घोराहीलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको चरम अभाव सृजना भएको छ ।

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायीको हडतालका कारण दाङमा आवश्यकता अनुसार इन्धन भित्रन नसकेको हो । ट्यांकर व्यवासायीले पानी पर्दा चिसोले तापक्रम अत्यधिक नाश हुने हुँदा विलिङ नेपालगञ्जमा नभएर दाङको तुलसीपुरमै हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् । नेपालगञ्जमा विलिङ हुँदा आफूहरूलाई घाटा हुने भएको हुँदा इन्धन ल्याउन जान नसकेको एक जना ट्यांकर चालकले बताए ।

तुलसीपुरमै इन्धन डिपो रहेको हुँदा विलिङ पनि दाङमै हुनुपर्ने उनले माग गरे । यही माग राखेर व्यवसायीले वर्षौंदेखि पटक/ पटक हडताल गर्दै आएका छन् । त्यही भएर जिल्लाको तुलसीपुर,घोराही,पश्चिम दाङ, सल्यान र रोल्पा तथा रुकुम जिल्लामा समेत इन्धनको चरम अभाव हुने गरेको छ । जिल्लाको लमही,भालुवाङ बजारमा क्षेत्रमा भने तेलको अभाव छैन । त्यहाँ छुट्टै समितिले तेल ढुवानी गर्दै आएको हुँदा त्यो संकलन नहुने गरेको हो ।

नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख सुजित पोखरेलले व्यवसायीको आन्दोलनका कारण असार २५ गतेदेखि जिल्लामा आवश्यकता अनुरूपको इन्धन आउन नसकेको बताए । ‘टेम्पेचर लस’ को कुरा उठाएर ट्यांकर व्यवसायीले असारको पहिलो साता पनि आमहडताल गरेका थिए । त्यतिबेला पनि पेट्रोलियम पदार्थको चरण अभाव सृजना भएको थियो ।

आफ्ना माग पूरा नभएको भन्दै उनीहरू पुनः आन्दोलन थालेको हुँदा जिल्लाका प्रमुख बजारमा इन्धनको चरम अभाचव सृजना भएको प्रमुख पोख्रेलले जानकारी दिए । उनले जिल्लाका तेल विक्रेता व्यवसायीलाई आफैं नेपालगञ्ज गएर इन्धन ल्याउन आग्रह पनि गरेका छन् । इन्धनको चरम अभाव भएपछि सर्वसाधारणले फेरि नाकाबन्दीको जस्तै समस्या झेल्नु परेको बताएका छन् । बिहान ३ बजे नै उठेर लाइनमा बसेको बताएका केशव चौधरीले बिहान ९ बजेसम्म पनि पालो नआएको जानकारी दिए ।

पेट्रोल पम्पहरूमा सीमित मात्रामा इन्धन आउन थालेपछि कालोबजारीयाहरूको भने बिगबिगी बढेको छ ।नेपालगञ्जमा सञ्चालन हुने यातायातका साधनहरूले ड्रममा तेलहरू ल्याएर जिल्लामा ल्याएर महँगोमा बेच्ने गरेका छन् । प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको छ । कालोबजारीयाहरूको बिगबिगी बढेको भए पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले भने यसबारेमा कुनै चासो दिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here