एसईई नतिजामा कन्काईको सरस्वती मावि सामुदायिक विद्यालयतर्फ प्रथम, अभियन्ता ओलीलाई सम्मान


१ जेष्ठ २०८३, शुक्रबार ०८:३२ मा प्रकाशित

झापा । झापाको कन्काई नगरपालिका–२, जामुनबारीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृट नतिजा लयाइ प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

कन्काई नगरपालिका भित्र १४ वटा संस्थागत विद्यालय र ७ वटा सामुदायिक विद्यालय रहेका छन् । तीमध्ये सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँदै सरस्वती माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो । विद्यालयबाट यस वर्ष करिब २० जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

जसमध्ये २.२ देखि २.४ जीपीए ल्याउने १ जना, २.४ देखि २.८ जीपीए ल्याउने ३ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २ जना विद्यार्थी रहेका छन् । उत्कृष्ट नतिजा प्राप्त गरेपछि विद्यालयले एक औपचारिक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई शुभकामना तथा बधाई आदानप्रदान गरेको हो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू आशिका अधिकारीलाई सम्मान गर्नुका साथै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने उदाहरण सरस्वती माध्यमिक विद्यालयले प्रस्तुत गरेको बताउँदै विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई बधाई व्यक्त गर्नुभयो ।

उहाँले यस्तो नतिजाले सामुदायिक शिक्षाप्रतिको विश्वास अझ मजबुत बनाउने उल्लेख गर्नुभयो । यसैबीच स्थानीय समाजसेवी दिपक ओली ले एसइई तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा अघि लगातार ४५ दिनसम्म निःशुल्क खाना खुवाएर महत्वपूर्ण योगदान गर्नुभएको थियो ।

विद्यार्थीहरूले उहाँको सहयोग, प्रेरणा र हौसलाकै कारण आफूहरू राम्रो नतिजा ल्याउन सफल भएको बताएका छन् । सोही कार्यक्रममा विद्यालयको तर्फबाट समाजसेवी दिपक ओलीलाई सम्मान समेत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले विगतका वर्षहरूमा विद्यालय दोस्रो स्थानसम्म सीमित हुँदै आएको भए पनि यस वर्ष शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको अथक मेहनत र निरन्तर प्रयासका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा विद्यालयलाई अझ नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उक्त औपचारिक कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here