संकटमा कोशी सरकारः माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाए राजीनामा


२६ चैत्र २०८०, सोमबार १७:०१ मा प्रकाशित

झापा । कोशी सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा दिएका हुन् ।

पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

यसैबीच नेकपा माओवादी केन्द्रका सांसदहरू सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पुगेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ।

कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here