शैक्षिकसत्र शुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक


२६ चैत्र २०८०, सोमबार १३:०७ मा प्रकाशित


कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ

यसअघि शैक्षिक सत्र सकिँदासम्म किताव नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताव नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताव पाउने निश्चित भएको छ ।

स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ ।

नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले बाउनु भयो ।

उहाँले कोशी प्रदेशका पहाडी जिल्लाहरु खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरुमा पाठ्यपुस्क पठाइसकिएको बताउनु भयो । पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताउनु भयो । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताउनु भयो । उहाँले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकोको बताउनु भयो ।


कोशी प्रदेशमा कुल एक सय २२ वटा पुस्तक व्यावसायीहरू जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत छन् । ती व्यावसायीसँग किताव किनेर विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गर्छ । कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् ।

जसमा करिव पाँच लाख विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय सरकारी विद्यालयको बढ्दो आकर्षणले गर्दा यो शैक्षिक सत्रमा विद्यार्थीको संख्या झन् बढ्ने अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here