कञ्चनपुरका पत्रकार भण्डारीलाई अदालतले तोक्यो कैद र जरिवाना


३१ असार २०७६, मंगलवार १२:३३ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ ।

सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो । सोही मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई कैद र जरिवाना तोकेको हो । तर अहिलेलाई भने उक्त सजाय स्थगित गरी अदालतले उनलाई माफिनामाको मौका दिएको छ ।

‘उहाँलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको हो तर उहाँले फेसबुकमा अदालतविरूद्ध लेखेका सामग्री हटाएर माफी मागेमा कैद र जरिवाना भुक्तान गर्नु नपर्ने सर्त छ,’ अवस्थीले भने, ‘उहाँलाई माफी माग्नका लागि अदालतले तीन दिनको समय दिएको छ ।’ झण्डै एक वर्ष अघि कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सोही घटनामा प्रारम्भिक अनुसन्धानकै क्रममा लापरबाही भएको विभिन्न छानबिन समितिहरूले निष्कर्ष निकालेका थिए । त्यसपछि कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ८ जनाविरूद्ध प्रहरीले नै अदालतमा मुद्दा दायर गरेको थियो ।

यही मुद्दाको सुनुवाइ प्रकृयालाई लिएर भण्डारीले आफ्नो पत्रिका मानसखण्ड दैनिक र फेसबुक स्टाटस लेखेका थिए ।उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भन्दै बारले उनीविरूद्ध अदालतको अवहेलना मुद्दा लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here