इस्लामावाद । साढे चार महिनादेखि भारतीय जहाजका लागि बन्द रहेको पाकिस्तानको आकाश खुला भएको छ ।
गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ आक्रमण गरे पछि कुनै पनि भारतीय जहाजलाई पाकिस्तानले आफ्नो अकाशमा उड्न दिएको थिएन । पाकिस्तानले विभिन्न समयमा सूचना निकाल्दै र समय थप्दै आफ्नो आकाश बन्द भएको जानकारी गराउँदै आएको थियो ।
गत जुन २८ मा अन्तिममा सूचना निकाल्दै १२ जुलाईसम्म एयरस्पेस बन्द भएको जानकारी गराएको पाकिस्तानले त्यसपछि भने समय सीमा नबढाउने भएको छ । जुलाई १२ पछि दुई देशका अधिकारीबीच कर्तारपुरमा वार्ता भएको थियो । उक्त वार्तामा पाकिस्तान मंगलबारदेखि भारतीय जहाजलाई आफ्नो आकाशमा उड्न दिन सहमत भएको हो ।
यसअघि भारतीय जहाजले पाकिस्तानी आकाशको बाटो हुँदै सातामा ३६ पटक युरोप तथा अमेरिका उडान गर्थे ।पाकिस्तानको उक्त अवरोधले भारतीय जहाजलाई ओमन वा इरान हुँदै घुम्नु परेको थियो । यसले भारतबाट युरोप तथा अमेरिकाको सिधा उडानमा २ घन्टा समय थपिएको थियो ।
पाकिस्तानको उक्त अवरोधबाट भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियालाई दैनिक तीन करोड भारूसम्म व्ययभार थपिएको थियो ।





