खराब ब्याटिङसँगै नेपाल ‘ए’ पराजित


२१ चैत्र २०८०, बुधबार १७:०८ मा प्रकाशित

खराब ब्याटिङ गरेपछि नेपाल ‘ए’ ले बुधवार आयरल्याण्ड ‘ए’ सँगको पहिलो एकदिवसीयमा २१ रनको हार व्यहोर्दै श्रृंखलामा खराब शुरुवात गरेको छ ।

यसअघि ट्वान्टी–२० क्रिकेटको श्रृंखला २–१ ले गुमाएको नेपालले एकदिवसीयमा पनि सुखद् शुरुवात गर्न सकेन ।

उत्कृष्ट बलिङका बाबजुद ब्याटिङमा साथ पाउन नसक्दा नेपालले पहिलो एकदिवसीयमा पनि हार व्यहो¥यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा आयरल्याण्ड ‘ए’ ले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका कुनैपनि ब्याटरले अनुशासित इनिङ खेल्न सकेनन् । साहब आलमको ३७ रन सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

तर ओपनर देव खनालले २६ रन र बसिर अहमदले २० रनको योगदान दिए । पहिलो विकेटका लागि नेपालको ३५ रनको साझेदारी भयो । थप १० रन जोड्ने क्रममा पाँच विकेट पतनसँगै नेपालको इनिङ धरासायी बन्यो । यस क्रममा ओपनर अर्जुन कुमाल ९ रन, अर्जुन साउद ४ रनमा आउट हुँदा भीम सार्की र आरिफ सेखले खाता नै खोल्न सकेनन् । कप्तान विनोद भण्डारी पनि ९ रनमा नै पभेलियन फर्किए । कमलसिंह ऐरी ६ रनमा एलबिडब्लु आउट भएपछि नेपालको सातौं विकेट पतन भयो ।

आठौं विकेटका लागि साहब र बसिरबीच २३ रनको साझेदारी हुँदा नेपालले जितको आशा राखेको थियो । तर दुवै ब्याटर धैर्य गुमाउँदै ठूलो सर्ट खेल्न प्रयासमा आउट भए र नेपालले हार व्यहो¥यो । रिजन ढकालले अविजित १२ रनको योगदान दिएपनि पर्याप्त भएन ।

पाहुना टोलीको बलिङमा लियाम म्याकर्थी र म्याथ्युज हम्प्रिजले संयुक्त ९ विकेट लिँदै नेपालको इनिङ धरासायी बनाउँदै जित दिलाए । १० ओभर बलिङ गरेका हम्प्रिजले तीन मेडन राख्दै ३२ रन मात्र खर्चिंदा पाँच विकेट लिए । म्याकर्थीले पाँच ओभरमा २९ रन व्यहोर्दै चार विकेट निकाले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा १५७ रनमै अलआउट भयो । पाहुना टोलीको पनि सुखद् शु?वात हुन सकेन । ओपनरद्वय जेम्स म्याकलम र स्टेफन डोहनी समान १२ रन आउट भए । तर पिटर मोरले २१ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे ।

क्याड कार्मिकाइल र कप्तान निल रकले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो स्थितिमा पु¥याए । २९औं ओभरमा कमलसिंह ऐरीले कप्तान निललाई ३९ रनमा एलबिडब्लु आउट गर्दै ठूलो सफलता दिलाए । यद्यपि अर्को छेउबाट कार्मिकाइलले इनिङ अगाडि बढाए ।

अर्को छेउबाट लगातार विकेट पतन भयो । ग्यारेथ डेलेनी ६ रन र फिओन हान्ड शुन्यमा नै आउट भए । ३७औं ओभरमा कार्मिकाइल ५१ रनमा पभेलियन फर्किए र पाहुना टोलीको सातौं विकेट पतन भयो । तर लगत्तै अर्को ओभरमा कमलसिंहले ह्याट्रिक लिँदै पाहुना टोलीलाई इनिङ सस्तैमा सिमित गराए । नेपालको बलिङमा कमलसिंहले ६.१ ओभरमा एक मेडनसहित चार विकेट लिए । आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट निकाले । नेपालले शुक्रवार दोस्रो खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here