महत्तोरी । मधेश प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाममा रहेका केही मठमन्दिरबाहेक ऐतिहासिक महत्त्वका धेरै सम्पदा जीर्ण भएका छन् । महोत्तरीका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका धार्मिक सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।
हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा योजनाबद्ध पहलकदमी नदेखिएपछि यी उपेक्षित बनेका हुन् । योसँगै मधेश प्रदेशका अरू जिल्लामा पनि विभिन्न भार्मिक क्षेत्र, गुफा, लोपाेन्मुख चरा तथा जनावरको बासस्थान फेला परेका छन् । तर यी उचित संरक्षणको अभावमा जीर्ण भएका स्थानीयवासीले बताएका छन् ।
मधेश प्रदेशमा रहेका हिन्दू परम्पराका मठमन्दिर, इस्लाम परम्पराका मजार र बौद्ध परम्पराका गुम्बा रेखदेख र संरक्षण नपाएर खण्डहरजस्तै बन्दैछन् । यी पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण, सम्वर्द्धनमा तीनै तहका सरकारको चासो र पहलकदमी हुनपर्ने महोत्तरीका स्थानीयवासी रामएकवाल रायले बताउनुभयो ।






