सभामुखको टोली जेनेभाबाट फर्कियो


१६ चैत्र २०८०, शुक्रबार १२:४९ मा प्रकाशित

स्विट्जरल्यान्डकाे जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किएको छ ।

९ दिन लामो भ्रमण सकेर स्वदेश फकिर्ने क्रममा सभामुख घिमिरेले अन्तर–व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ ।

उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताउनुभयो ।

नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखापरिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढङ्गबाट संसद्ले खेल्ने भूमिकाबारेमा कुरा उठाएको सभामुखकाे भनाइ छ ।

सभामुख घिमिरेले अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता देशहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको पनि बताउनुभयो ।

सभामुखसहितको टोली एक हप्ताअघि गएको बिहीवार जेनेभा गएको थियो ।

सभामुख घिमिरेको टोली ९ दिन लामो भ्रमणमा गएपछि प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको थियाे । अब संसदीय गतिविधि तीव्ररूपमा अघि बढ्ने सभामुखले विश्वास व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here