प्रमुख जिल्ला अधिकारी बास्तोलाको व्यवहार ठिक नभएको भन्दै झापाका सहकारीकर्मीहरू आक्रोशित


१८ फाल्गुन २०८०, शुक्रबार ०८:१९ मा प्रकाशित

झापा । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको व्यवहार ठिक नभएको भन्दै सहकारीकर्मीहरूले उनीप्रति आक्रोश पोखेका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा उनका अभिव्यक्ति र व्यवहार ठिक नभएको भन्दै प्रमुख जिल्ला अधिकारीप्रति झापाका सहकारीकर्मीहरूले आक्रोश पोखेका हुन् ।

कार्यक्रम चलिरहेको बेला छलफल विषयान्तर भएको भन्दै उनी बिचमै छोडेर हिडेका थिए ।

जिल्ला प्रशासन कार्यालयले नै समन्वय गरेको कार्यक्रम छोडेर हिडेपछि सहकारीकर्मीहरुले उनीविरुद्ध नारावाजी नै गरेका थिए ।

झापा जिल्लाका सहकारी संघ-संस्थामा देखा परेको समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रियामा प्रजिअ हिडेपछि सहभागीहरुले उक्त कार्यको विरोध जनाएका हुन् ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा र झापा जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय झापाले गरेको थियो ।

सहकारी सरोकारवाला, राजनीतिक दलका नेताहरुको सहभागिता रहेको कार्यक्रममा सहकारीका विद्यमान समस्या र समाधानको विषयमा छलफल अन्तरक्रिया भएको थियो ।

अन्तरक्रियाको सुरुवातमै प्रजिअ कार्यक्रम स्थल छोडेर हिडेको हाम्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए । प्रजिअ बास्तोलाले सहकारीका समस्या सुन्नै नचाहेको उनले बताए ।

गौतमले भने, ‘जिल्ला प्रशासन कार्यालय भनेको अर्धन्यायिक निकाय पनि हो । प्रमुख जिल्ला अधिकारीले जनताको कुरा सुन्नपर्नेमा कार्यक्रम छोडेर जानु कतिको उचित हो ?’

जिल्लाका राजनीतिक दलका प्रमुखहरूसमेतलाई उपेक्षा प्रमुख जिल्ला अधिकारी बास्तोलाले उपेक्षा गरेको उनले बताए ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यलयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले प्रदेशको सहकारीको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि खुल्ला छलफल सुरु भएपछि सहकारीका अग्रज दुर्गा सापकोटाले प्रश्न राखेका थिए ।

सापकोटाको प्रश्नलगत्तै प्रजिअ बास्तोलाले ‘कस्ता–कस्ता सदस्यहरु छन् तपाईहरु आफै मिलाउनुहोस्, मैले कोर ग्रुप होला भन्ठानेथे’ भन्दै कार्यक्रमबाट निस्किएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

जिल्लाका जिम्मेवार व्यक्तिहरुको बीचमा भएको छलफलले सहकारीमाथि भइरहेको आक्रमण रोक्न सकिने सोचका साथ आफूहरू कार्यक्रममा उपस्थित भएको झापाका सहकारी अगुवाहरूले बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी र माओवादीका नेता राजु आचार्य ‘अग्नी’ ले सिडियोको व्यवहारको निन्दा गरेका गरेका छन् । उनीहरूले सिडियोबाट अविवेकी काम भएको धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी बास्तोला घर विदामा रहेका उनीसंग सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here