मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित जिल्लाहरूको पदयात्रामा निस्के


१० फाल्गुन २०८०, बिहीबार ०८:३१ मा प्रकाशित

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित जिल्लाहरूको पदयात्रामा निस्केका छन् ।

बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा शुरु गरेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बिहीबार झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी क्षेत्र चुलाचुलीसम्म केन्द्रित रहनेछ ।

उनले बुधबार झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका हुन् ।

जीव र जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले बुधबार पदयात्रा शुरु गरेका हुन् ।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताएका छन् ।

पदयात्रा शुरु गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘जनता र हात्ती दुबैलाई दुस् नहुने गरी समस्या समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं, छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं ।‘

जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना प्रदेश सरकारको रहेको मुख्यमन्त्री कार्कीले बताए ।

बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।

कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर हात्ती आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here