तनावकाबीच सर्लाहीको हरिपूर्वाद्वारा नगरसभा सम्पन्न, चालु आ.ब.का लागि बल्ल ल्यायो बजेट


७ फाल्गुन २०८०, सोमबार १९:३२ मा प्रकाशित

सर्लाही । तनावकाबीच सात महिना ढिलो गरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा सोमबार बल्ल ११ औँ नगरसभा सम्पन्न भएको छ ।

नगरप्रमुख विनोदकुमार साह तेलीले ४९ जना नगरसभा सदस्यमध्ये बहुमत सदस्यको उपस्थितिमा नगरसभा सम्पन्न गरिएको दावी गर्नुभयो ।

सभाबाट चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ६४ करोड ६८ लाख ६७ हजार रुपियाँ बराबरको बजेट पारित गरिएको नगरप्रमुख साहले बताउनुभएको छ ।

राजनीतिक हानाथाप र प्रमुख प्रशासकीय अधिकृतको अभावमा हरिपूर्वामा असार मसान्तभित्रै हुनुपर्ने नगर सभा अहिलेसम्म हुन सकेको थिएन । साउनदेखिको तलब नपाएपछि कर्मचारीहरुले कार्यालय बन्द गरेर र शिक्षकहरुले विद्यालय बन्द गरेर धर्नामा बसेपछि नगरप्रमुख साहले बहुमत जुटाएर नगर सभा सम्पन्न गर्नुभएको हो ।

नगरप्रमुख साहले नगर कार्यपालिकाबाट सहमति जुटाइ नगर सभा गर्न पटक–पटक प्रयास गरे पनि सफल नभएपछि बाध्य भइ बहुमतबाट निर्णय लिनुपरेको बताउनुभयो ।

“तलब, भत्ता निकासा नहुँदा नगरपालिका, विद्यालय, स्वास्थ्य संस्था सबैको सेवा ठप्प भयो, बजेट नभएर स्वास्थ्य संस्थामा सिटामोल धरी सक्कियो,” नगरप्रमुख साहले भन्नुभयो,“ यस्तो विकराल अवस्था आएपछि बहुमतबाट नगरसभाको निर्णय गर्नुपरेको हो । हरिपूर्वाबाट अन्यत्र सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) शम्भुप्रसाद यादवले तत्काल रमाना नलिसकेकाले उहाँलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखेर नगरसभा सम्पन्न गरिएको हो ।”

नगरपालिका कार्यालयमै भएको नगरसभामा जनप्रतिनिधिबिच विवादपछि केहीबेर कुर्सी हानाहान र तोडफोडसमेत भएको छ । नगरप्रमुखसँग असन्तुष्ट जनप्रतिनिधिको तोडफोडबाट कार्यालयको कुर्सीलगायतका सामग्रीमा क्षति पुगेको छ ।

नगर उपप्रमुख सुमित्रादेवी ग्वारनीले आफूलाई कुनै सोधखोज नगरी एक्कासी नगरसभा गरेको बताउनुभयो । उहाँले नगरसभामा आफ्नो सहमति नरहेको बताउनुभएको छ ।

“नगरसभा राख्नेबारे मसँग नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सल्लाह नै गर्नुभएन, आज एक्कासी नगरसभा भनेर चिठ्ठी प्राप्त भयो,” उपप्रमुख ग्वारनीले भन्नुभयो ।

नगर उपप्रमुख ग्वारनीसहित केही जनप्रतिनिधि नगरप्रमुख साहको विरुद्धमा रहेका छन् । नगरसभा चलिरहँदा तथा सम्पन्न भएपश्चात पनि आज दिनभर हरिपूर्वा नगरपालिका कार्यालय परिसरमा नगरसभाको पक्ष र विपक्षमा प्रदर्शन भइरह्यो ।

अप्रिय घटना हुन नदिन दिनभर नगरपालिका परिसरमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बाक्लो मात्रामा प्रहरी परिचालन गरिएकाले दोहोरो झडप भने हुन पाएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here